सिँचाइ कुलो बनेपछि किसानलाई राहत


इकोनामिक खबर,
सिन्धुली, स्थानिय संवादाता। दुधौली नगरपालिकाको ठाकुरदमारमा पक्की सिँचाइ कुलो बनेपछि किसानलाई राहत मिलेको छ। नगरपालिकाको १३ नं वडामा नेपाल सरकार र स्वीडेन सरकारको सहयोगमा सो पक्की कुलो निर्माण गरिएको हो। नेपाल सरकारको रु ११ लाख, स्वीडेनको रु १७ लाख र किसानले श्रमदान गरी रु ३१ लाखमा कुलो निर्माण गरिएको वडाध्यक्ष मिलन सुनुवारले जानकारी दिनुभयो।

कुलो निर्माण गरिएपछि उक्त क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुगको छ। कुलो निर्माण भएपछि ६० परिवारको करीब ६० हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीनमा बाह्रै महीना सिँचाइ सुविधा पुगेको ठाकुरखोला सिँचाइ कुलो आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो। पाँच सय ७४ मिटर लामो पक्की कुलो निर्माण गरिएको हो। ठाकुरखोलामा १३ मिटर तथा झाँक्री खोलामा नौ मिटर लामो पुल निर्माण गरिएको छ।

विगतमा कच्ची कुलो हुँदा मुहानबाट ल्याइएको पानी बीचमै चुहिएर खेर गइरहेकामा अहिले पानी चुहावट नहुँदा खेतमा चाँडै सिँचाइ हुने गरेको कार्कीले बताउनुभयो। पक्की कुलो मर्मत गर्न मर्मत कोषसमेत बनाइएको छ। कोषमा रु एक लाख ५० हजार जम्मा गरिएको छ। “पक्की कुलो बनेपछि विगतमा एउटा बाली मात्र लगाउने किसान यतिबेला तीन बाली लगाउन थालेका छन्”, स्थानीयवासी शोभा पौडेलले भन्नुभयो। पक्की कुलो बनेपछि ठाकुरदमारमा २४ सै घण्टा पानी घट्ट सञ्चालन गर्न सकिने भएको छ।