
ईकोनोमिक खबर, काठमाडौं। एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिने भएका छन् । एनएमबीले ओमसँग गाभिने प्रस्ताव अनुमोदन गर्न साउन २८ गते विशेष साधारण सभा बसेको थियो। ओमले पनि सोमबार नै विशेष साधारण सभा बोलाएको थियो।
सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्यो। दुई संस्था गाभिए पछि एनएमबी र ओमको शेयर अनुपात एकसय बराबर ७६ हुने भएको छ । त्यस्तै बैङ्कको नाम एनएमबी रहने छ ।
मर्जरका लागि नियामक निकाय केन्द्रिय बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ । केन्द्रिय बैंकको सहमति अनुरुप दुबै बैंकले सभा बोलाएका हुन् ।
सभामा एनएमबी र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिनेछ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने विषय पनि छ । एनएमबीले शेयर ब्रोकरको काम पनि गर्ने भएको छ । यसका लागि प्रबन्धपत्रमा आवश्यक बुँदा थप गर्ने प्रस्ताव पनि छ ।
एनएमबी र ओमले जेठ २ गते मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर सम्झौता पश्चात एनएमबीको शेयर कारोबार जेठ ३ गतेदेखि रोक्का भएको छ । जेठ २ गतेसम्म कारोबार भई साउन २० गतेसम्म शेयर रजिष्ट्रार एनएमबी क्यापिटलमा कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन।