बैंकिङ समूह उचालिएपछि नेप्से सूचक तरंगीत


ईकोनोमिक खबर, काठमाडौं। आज पनि शेयर बजारमा उछाल देखिएको छ, यस उछालमा बैंकिङ समूह उचालिएपछि नेप्से सूचकलाई थप तरंगीत बनाइदिएको हो।

नेप्से सूचक पनि लगानीकर्ताको मनोवैज्ञानिक विन्दु १४ सयको नजिकमा थियो। १४०२ विन्दुसम्म पुगेको नेप्से आजको अन्तिम समयमा १३९८.२४ विन्दुमा अडिएको छ। यसले बजारमा झन हौसल बढाईदिएको छ।

झण्डै ४२ महिनाको ओरालो यात्रामा बजारले नयाँ उचाई कायम गरिरहेको छ। सूचकसँगै कारोबार रकममा पनि उछाल आउन थालेको छ । दोहोरो अंकले बढेको बजारलाई खरिदबिक्री रकमले व्यापकरुपमा साथ दिएको हो।

यसअघि नेप्सेले लामो समयसम्म १३५० को प्रतिरोध तोड्न सकेको थिएन। आइतबार त्यो रेखा सजिलै तोडिएसँगै नेप्सेमा नयाँ उत्साह थपिएको हो। यतिबेला आम लगानीकर्ता निकै उत्साहित भएका छन् । साना–ठूला तथा संस्थागत लगानीकर्ताले शेयर कारोबारलाई तीब्र बनाइरहेका छन्।

यतिबेला अधिकांश कम्पनीले गतवर्षको नाफाबाट लाभांश वितरण गरिसकेका छन् । बिमा समूहमा भने अझै धेरैको लाभांश घोषणा हुन बाँकी छ । लाभांश लगानीकर्ताको खातामा जाने क्रम चलिरहँदा बजार नयाँ उचाईतर्फ अघि बढिरहेको छ ।

शेयर बजार निकै हदसम्म लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्छ । यतिबेला आम लगानीकर्ता बजारप्रति निकै सकारात्मक बनेको देखिन्छ । उनीहरु बजारप्रति निकै आशावादी बन्दा खरिदबिक्री क्रम पनि बढाएका छन् । लगानी गरिने कम्पनीको लाभांश क्षमता, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, भविष्यमा व्यवसाय विस्तारको सम्भावना लगायतका पक्षलाई विशेष ख्याल गर्नुपर्छ । सकेसम्म अलि लामो अवधि होल्ड गर्ने हिसाबले सेयर बजारमा प्रवेश गर्न सके दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित बन्नुपर्दैन ।